१६ असार, काठमाडौं । नेपाल र नेदरल्याड्सबीच चारवटा टी-२० म्याचको श्रृंखला आजबाट सुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछ ।
दुई शक्तिशाली एसोसिएट्स राष्ट्रबीचको यो भिडन्त रोचक हुने पक्का छ । पहिलो र दोस्रो खेल नेदरल्याण्ड्सको आम्सटेलभिनस्थित भिआरए रंगशालामा हुने छन् । बाँकी दुई खेल रोटरडमको भिओसी रंगशालामा हुने कार्यक्रम छ ।
खेल पत्रकार तथा क्रिकेट अम्पायर देवेन्द्र सुवेदीले पहिलोपटक हुन लागेको नेपाल-नेदरल्याड्स टी-२० प्रतियोगितालाई यसरी विश्लेषण गरेका छन्:
कति महत्वपूर्ण हो यो श्रृंखला ?
नेपालका लागि यो श्रृंखला दुई कारणले महत्वपूर्ण छ । पहिलो टी-२० वल्र्ड र्याङ्किङमा पर्नका निम्ति र दोस्रो टी-२० विश्वकप क्वालिफायरको लागि मनोबल उच्च बनाउन ।
टि-२० वल्र्ड र्याङकिङमा पर्नका निम्ति कुनै पनि देशले ८ वटा खेल अनिवार्यरुपमा खेल्नुपर्ने प्रावधान छ । तर, नेपालले र्याङ्किङ अवधीमा अहिलेसम्म चार वटा म्याच मात्र खेलेको छ । त्यसैले नेपाल सो र्याङ्किङमा पर्नका निम्ति नेदरल्याड्ससितका चारवटै खेल अनिवार्य खेलिनुपर्छ । कुनै कारणले एउटा खेल पनि स्थगित भएको खण्डमा नेपालले अवसर गुमाउने छ ।
नेपालले यसअघि खेलेका चार टी-२० म्याचमा दुई जित र दुई हार व्यहोरेको छ । आइसीसीको र्याङ्किङ टेबलमा अटाउन नेपालले यो श्रृंखलाका दुई म्याच जित्नै पर्ने अवस्था पनि छ । स्मरणीय के छ भने चार वटा म्याच लगातार चार दिन खेलाइँदै छन् ।
विश्वकप छनोटको यात्रामा पनि यो श्रृखलाको महत्व छ । यो श्रृंखला लगत्तै नेपालले आयरल्याण्डमा विश्व टि-२० क्वालिफायर खेल्ने छ । सोही प्रतियोगिताको तयारीका हिसाबले पनि नेदरल्याड्सविरुद्धको श्रृंखलालाई महत्वका साथ हेरिएको छ । यो प्रतियोगीताले नेपाललाई अन्तिम ११ खेलाडी छनोट गर्न पनि सघाउ पुग्नेछ भने जित हासिल गरेको खण्डमा मनोबल उच्च रहने छ ।
