कुण्ठा र घमण्डको टक्कर : - मदनको जन्मदिनमा मुखियाको उपहारआजको दिन एमाले पंक्तिले आधुनिक
एमालेका प्रणेता स्वर्गीय मदनकुमार भण्डारीलाई सम्झिने गर्थे । असार १४ गते जननेता मदन भण्डारीको जन्मदिन एमाले पंक्तिले बिगत २२ वर्षदेखि मनाउँदै आएको थियो । मदन बाँचिरहेका भए आज ६२ वर्ष पुग्थे । २०५० जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र जीवराज आश्रतिको निधन भएको थियो । मदनलाई सम्झिनुपर्ने दिन उनका अनुयायीहरु भने एकले अर्कोलाई ‘कि तँ छैनस्,कि म छैन’ भन्ने तहमा ओर्लिएर दन्तबझान गरिरहेका छन् ।
मदनका अनुयायीहरुको दन्त बझान उनले प्रतिवादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई लागु गर्ने वा देश बनाउने नाममा होइन । कुन व्यक्तिलाई कुन अड्डामा नियुक्त गर्ने वा हटाउने नाममा एमालेका शीर्षस्थहरु रामायणका बाली र सुग्रिमको स्टाइलमा कबच उतारेर भिड्दैछन् ।
मदन भण्डारीका अनुयायीहरुले उनको जन्मदिनकै अवसर पारेर कलहको उपहार दिएका छन् । भण्डारीले विश्वकै कम्युनिस्ट आन्दोलन सन् ९० को दशकमा आरालो लागिरहेको बेला नेपालमा कम्युनिस्ट पार्टीको अस्थित्व रक्षाका लागि नविन बिचारको प्रतिपादन गरेका थिए । उनीमाथि लागेको संशोधनवादको आरोपलाई बेवास्ता गर्दै कम्युनिस्ट पार्टीले पनि बहुदलीय प्रतिस्पर्धामा आफूलाई श्रेष्ठ साबित गर्न सक्नुपर्छ र जनताबाट अनुमोदित हुनुपर्छ भन्ने मान्यतामा आधारित बिचारको प्रतिवादन गरे ।
दुर्भाग्यवश उनले जुन बिचारलाई जनताको बहुदलीय जनवाद भनेर पारित गराए, त्यसको प्रयोग नहुँदै उनको रहस्यमय निधन भयो । त्यसयता मदन भण्डारीको सच्चा अनुयायी को भन्ने विवाद एमालेमा आज पर्यन्त छ । मदनको अवसान लगत्तै माधवकुमार नेपालले करीव १५ वर्ष निरन्तर पार्टी सत्ता चलाए । त्यसपछि झलनाथले ५ वर्षको पालो पुर्याएपछि केपी ओली एमालेको सत्ता सन्चालनक बनेका छन बिगत एक वर्षदेखि ।
ओली र बामदेव गौतम एमालेमा आफूलाई मदन भण्डारीका वास्तविक उत्तराधिकारी हौं भन्ने गर्छन् । तर पार्टी सत्तामा भने मदनको उत्तराधिकारी बनेर माधव नेपालले शासन गरे, जसको कुण्ठा यी दुवै नेताहरुमा लामो समयसम्म रहृयो । बामदेवले पार्टीनै फुटाएर केही वर्षपछि फर्किए भने ओली लगभग सधैं स्थायी प्रतिपक्षी बनेर नेपालसँग सिँगौरी खेलिरहे ।
यद्यपी संकटका बेलामा भने ओलीले सधैं माधव नेपाललाई साथ दिएको उनका समर्थकहरु पटक पटक भन्ने गर्छन् । २०५३ सालमा महासचिवबाट हटाउन बहुमत पुग्दा पनि ओलीले माधवलाई जोगाइदिए । २०५४ को छैटौं महाधिवेशनको बेला ओलीले माधवलाई काँध थापे । यद्यपी माधव पक्षधरहरु भने अेालीकै कारण बामदेव त्यसबेला पार्टी बिभाजनको तहमा पुगेको दावी गर्छन् ।