बाबुआमा रक्सी खाएर हिड्दा ५ बालबालिकाको बिजोग
बाँसले बारेर बनाएको सानो घर भत्किन लागेको छ, छानो पनि भरपर्दो छैन ।
भित्र दुई चार ओटा थोत्रा लुगा, थाल र बटुका अनि नलिपिएको भुइँमाथि असरल्ल छ । घरको नजिकै नानीहरु पातला र पुराना कपडा लगाएर घाम तापिरहेका छन् ।
सदरमुकाम फिदिम ६ ओदिनका ऋषिराम इङ्वाको घर हो यो । उनका पाँच छोराछोरीले पुसको चिसोमा न न्यानो कपडा लगाउन पाएका छन्, न त पेटभरि खान नै । ‘भोक र चिसोले होला रातभरि भाइहरु रोइरहन्छन्” जेठा १४ बर्षिका सुमन भन्छन् ‘बा जहिले पनि मातेर आमासँग झगडा मात्र गर्नुहुन्छ ।’
जग्गा जमिन पर्याप्त भएपनि लापरबाहीका कारण यो परिवारको आर्थिक अवस्था कमजोर भई बालबच्चाको विजोग भएको हो । सदरमुकाममै इङ्वाको तीन रोपनी बारी र आठ रोपनी खेत छ ।
श्रीमानले खेतबारी बन्धक दिएपनि कमाइ खाने ठाउँ पनि नभएको इङ्वाकी श्रीमती मेनुकाले बताउनुभयो । हिजोआज त मेनकामा पनि जाँडरक्सीको लत लागेको छ । आमाबुवा दुबै जाँडरक्सी खाएर हिड्न थालेपछि बालबालिकाको वास्ता गर्ने कोही नभएको हो ।
आफ्नो जमिनमा कमाइले खान लाउन नपुगेकाले जमिन बन्दक राख्नुपरेको ऋषिराम बताउँछन् । गिटी कुटेर र काठ काटेर परिवार पाल्दै आएको उनी बताउँछन् । पुरानो घर भत्किएपछि नयाँ बनाउन नसक्दा परिवारको विजोग भएको हो ।
आमाबुबाको लापरबाहीले बालाबच्चाको चिसोले कठ्याङ्ग्रिएपछि गाउँ विकास समितिले इङ्वाका छोराछोरीलाई केही दिन अघि एक÷एक जोर कपडा दिएको थियो ।
बालबालिकाको विजोग देखेपछि जिल्ला प्रशासन, उद्योग बाणिज्य संघ पाँचथर र स्थानीय समाजसेवीहरुले घर टहरो बनाइदिने पहल सुरु गरेका छन् ।
‘बाच्चाहरुका लागि केही गर्ने योजना बनाएका छौं’ सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद आचार्यले भन्नुभयो ‘बच्चाहरुलाई बचाउने पहिलो काम हो ।’ दिन दिनै इङ्वाका छोराछोरीको अवस्था नाजुक बन्दै गएपछि प्रशासनले रेखदेख गर्न मान्छे पनि खटाउने भएको छ ।
