२६ असार, काठमाडौ । रोल्पाको थवाङ्मा शनिबार शक्तिशाली बम विस्फोट भएको छ । थवाङ गाविस-१ चालावाङमा शिरप्रसाद घर्तीको घरमा बम विस्फोट भएको हो ।
घर्तीको घरमा विहान ७ बजेतिर बम विस्फोट हुँदा घर पूर्ण रुपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय थवाङले जनाएको छ ।
बम विस्फोट भइ घर भत्किँएर पुरिँदा घर मुली वर्ष ५३ का शीरप्रसाद पुरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । भत्किएको घरको उद्धार गर्न नसकिएको प्रहरी नायव निरीक्षक वकिल बहादुर बमले जानकारी दिए ।
बम विस्फोटमा परी ६ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा शीरप्रसादकी श्रीमती ४८ वषर्ीया लगन घर्ती, छोरी १८ वषर्ीया अस्मिता बुढा, २० वषर्ीय छोरा समित घर्ती, बुहारी १८ वषर्ीया शोडषी घर्ती, छिमेकी धनीराम झाँक्री र रोल्पा कुरेली-८ का ज्वाईँ राजधन बुढा रहेका छन् ।
घाइतेहरुको स्थानीय जलजला सामुदायिक केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको वम विस्फोटको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घरमै राखिएको बम अथवा बाहिरबाट आएर कसैले राखिदिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक बमले बताए । घटनास्थल थवाङबाट एक घण्टाकाे पैदल दूरीमा पर्दछ ।
