सोबा (मुगु), रोवा गाविसको सोबा गाउँमा ४१ वर्षीय लछुमा बुढाको मृत्यु भएपछि कलिला छोराछोरीको बिचल्ली भएको छ । गत भदौ ५ गते सुत्केरी व्यथाले लछुमाको अकाल ज्यान गएपछि २ छोरा र १ छोरीको हेरचाह तथा स्याहारसुसारका लागि घरमा अरू कोही नहुँदा बिचल्ली भएको हो ।
मृतक लछुमाको जेठो छोरा टंक ९ वर्षको, माइलो दर्ज ५ र कान्छी छोरी अस्मिता २ वर्षकी छन् । उनीहरूको गाँसबासको ठेगान छैन । मृतक लछुमाका पती धर्मराज पत्नी बियोगले बरालिएर हिँड्न थालेका छन् । उनी घरमा नबस्ने र छोराछोरी जेठा बुबा जैबीरको साथमा छन् । जैबीरकी पत्नी छैनन्, एक्लै छन् ।
'दुई साता भइसक्यो भाइ घरमा आएको छैन । आए पनि एक दिन बसेर फेरि कता भागिहाल्छ,' दाइ जैबीरले दुखेसो पोखे, 'यी बच्चाको कुनै गास र बासको ठेगान छैन । रुदै दिन बिताउने गरेका छन् ।' जेठो छोरा टंक स्कुल जान्छन् । माइलो दर्ज कान्छी बहिनी अस्मिताको रेखदेख गर्छन् । उनीहरू बिहानदेखि बेलुकासम्म घरको ढोकामा बसेर आमा सम्झदै बुबाको बाटो हेर्ने गरेका छन् ।
