आमा मन्छिन्-खाने गाँस र बस्ने बास छैन कसरी पढाउने ? २८ असार, सिन्धुली । एसएलसी पास गरेका विद्यार्थीहरु आ-आफ्नो रोजाइका कलेजमा भर्ना हुँदैछन् । तर, यस्ता विद्यार्थी पनि छन्, जसका लागि एसएलसीको प्रमाणपत्र बोझिलो बन्दैछ ।
सिन्धुलीको तीनकन्या गाविसका शर्मिला गुरुङलाई आफ्नै भविष्यको भारीले थिच्न थालेको छ । श्री बत्सला मावि किराँते स्कूलबाट शर्मिला गुरुङ यो वर्षको एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण भइन् ।
यो स्कूलबाट एसएलसीमा पहिलोपटक एसएलसी उत्तीर्ण हुने दुईजनामध्येकी एक हुन् शर्मिला । बल्लतल्ल एसएलसी पास भइन् । अब कहाँ जाने ? शर्मिलाको आर्थिक दूरावस्थाले यहि प्रश्न तेस्याईदियो ।
शर्मिला कक्षा १ देखि नै स्कूलमा प्रथम हुँदै आइन् । दुःखजेलो गरेर एसएलसी पनि उत्तीर्ण गरिन् । परीक्षाका बेला पनि उनी गाउँमा खेताला गएर राति पढ्थिन् ।  गाउँमा ज्यामी काम गरेर घर धान्ने अभिभारा पनि शर्मिलामाथि नै थियो । उनी र ८ र ९ कक्षामा पढ्ने भाइहरु सुशील र यलम्बरकै भरमा घर धानिएको छ । त्यसैले पनि उनले सोंचेजति अंक ल्याउन सकिनन् ।
घरायसी दुरावस्था
शर्मिलाका बुवा यमबहादुर फोक्सोको क्यान्सर रोगले ग्रस्त छन् । विगत १० वर्षदेखि नै बुवालाई रोगले च्यापेपछि घरको स्थिति दयनीय बन्दै आएको छ । उनका आठ जना भाइ बहिनी छन् ।
यो परिवारका बालवालिका बिहानको स्कूल हुँदा दिउँसो अरुको खेतबारीमा काम गर्छन्, दिउँसोको कक्षा हुँदा बिहानभर अरुकोमा काम गर्छन् ।  बस्ने बासको नाममा एउटा खरको छाप्रो, खानका लागि अरुको खेताला गएर ल्याउने सामल बाहेक यो परिवारको आयस्रोत नभएको स्थानीय दिलवहावदुर मगरले बताए ।
भूकम्पले झनै बिजोग
सानो घर थियो । हिउँद वर्षामा ओतिने त्यही घरको भर थियो । अहिले त्यो घरको नि भर भएन । भूकम्प आएपछि उनीहरु घरविहीन बन्न पुगेका छन् ।
घर बनाउनलाई पैसा छैन । पैसा नभई घर बन्दैन् । ‘खानलाई त धौधौ छ, घर कसरी बनाउनु ?’ शर्मिलाकी आमा भन्जु भन्छिन् । वैशाख १२ र २९ गते आएको भूकम्पले घर ध्वस्त छ । परिवार भने सबै सकुशल छन् ।
भूकम्पले घर ध्वस्त पारेपछि उनीहरु १५/२० दिन त खुला आकाशमुनि बसे । गोठको सेप लागेर बसे । सहयोगीहरुबाट केही थान पाल पाएपछि पाल लगाएर बसे, पालले पनि धानेन । त्यसपछि भएको एउटा भैंसीलाई बारीको पाटामा सारेर गोठमा बस्न थालेको छ यो परिवार । नौं भाइबहिनी र आमाका साथमा शर्मिला सोही गोठमा बस्छन् । उनको बुवा भने धेरैजसो अस्पतालमै हुन्छन् ।
खान छैन, कसरी पढाउने ?
शर्मिला एसएलसी उत्तीर्ण भइन् । सबैले बधाइ दिए । उनले बधाइ यस अर्थमा पनि पाइन कि सबैको मेलापातमा फूर्तिलो काम गर्ने भएकाले पनि गाउँलेहरु उनको एसएलसी पासमा खुशी थिए ।

स्कूलले परीक्षामा सहभागिता जनाउन थालेको तेस्रो वर्ष मात्र उनी लगायत दुईजनाले बत्सला माविबाट एसएलसी उत्तीर्ण गरेको थियो । आफ्ना स्कूलबाट पहिलोपटक एसएलसी पास भएकाले पनि शिक्षकहरु पनि उनलाई बधाई दिए । धेरै पढ्ने आशिर्वाद पाइन् ।
शर्मिलाले ठूलो मान्छे बन्ने शुभकामना पाइन् । जब घर आइन्, उनले पाएको बधाई र शुभकामना निरासामा बदलियो । घरको दुरावस्था उनलाई थाहा छ । तर पनि उनमा पढ्ने उत्कट इच्छा भने मरेको छैन ।
शर्मिलालाई अनमी पढ्ने इच्छा छ । अनमी पढेर बिरामीको सेवा गर्ने चाहना छ । उनले थाहा पाउँदादेखि नै बुवा बिरामी भएको पीडा उनले देखेकी छिन् । बुवाको पीडाले उनलाई नै पीडाबोध भइरहेको बताउँछिन् । बन्न त उनलाई नर्स बन्ने इच्छा छ । डाक्टर बन्ने इच्छा छ । ‘चाहना मात्र भएर के गर्नु, घरको हालत तपाइहरुले देखिहाल्नुभयो’ उनले भनिन्, ‘अनमी पढौं भनेको त कसरी पढ्ने हो ?’
उनका आमाले भने छोरीले पढ्ने चाहना राखेको बताइन् । ‘पढाउन सक्ने अवस्थामा छैन’ शर्मिलाका आमा मञ्जुले भनिन्-‘घरमा खान छैन, घर भत्किएर बस्ने ठाउँ छैन, छोरीलाई कसरी पढाउनु ?’
आफ्ना श्रीमान दीर्घ बिरामी भएकाले पनि घरायसी स्थिति दयनीय भएको भन्दै छोरीको पढ्ने चाहना कसरी पूरा गर्ने भन्नेमा मञ्जुलाई चिन्ता छ ।
विद्यालयका प्रधानाध्यापक बलबहादुर भुजेल भन्छन्-‘उनीहरु सबै पढ्नमा तेज छन्, स्कूलले पनि सकेको सहयोग गरिदिएकै छ । तर शर्मिलाकेा उच्च शिक्षा लिने आर्थिक अवस्था छैन ।
उनलाई अनमी पढ्ने रहर छ । सिन्धुलीमै पनि अनमी पढाई हुन्छ । अनमीको प्रवेश परीक्षाका लागि फारम पनि खुलिसकेको छ । तर फारम किन्ने हैसियतसमेत उनमा छैन । ‘फारम भर्न त गाउँतिर पछि काम गरौला भनेर भर्ने हो, परीक्षा दिने हो तर पास भइयो भने नि कसरी भर्ना गर्नु ?’ उनले भनिन्, ‘मेरो भाग्यमै पढाई यति नै लेखेको होला भनेर चित्त बुझाउनुपर्ला अब ।’

Powered by Blogger.