२५ असार, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरु अहिले सानो भए पनि आगोको झिल्का भएको बताएका छन् ।

‘संविधानको मस्यौदा र जनताको जनादेश’ शीर्षकमा माओवादी उपत्यका ब्यूरोले ललितपुरको कुपण्डोलमा आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै वैद्यले आगोको झिल्का सानै भए पनि आगो सल्काउन सक्ने बताए ।

‘हामी अहिले सानै छौं, ०५२ सालअघि पनि हामी सानै थियौं’, बैद्यले भने, ‘आगोको झिल्का पनि सानै हुन्छ तर त्यसले ठूलो क्षति पुर्याउँछ ।’ ‘बलेको आगो सबैले ताप्छन्, तर निभेको आगो पनि ताप्न जान्नुपर्छ’, वैद्यले भने ।

उनले संविधानसभा नै वास्तविक माओवादीबाट खोसिएको दाबी गर्दै उनले फेरि अर्को अर्को आन्दोलनको आवश्यकता औल्याए ।

संविधानसभाबाट संविधानको मस्यौदा आउने बेलासम्म पनि जनताको समस्याको सम्बोधन हुन नसकेको उनको जिकिर थियो । वैद्यले अहिलेको समय कसैलाई सरापेर मात्रै केही नहुने पनि उल्लेख गरे । राष्ट्रिय स्वाधिनताको लडाईँ र दक्षिणपन्थी अवसरवादविरुद्धको लडाईँ माथि उठाउन वैद्यले अपिल गरे ।

नयाँ शक्तिको कुरा गर्ने विस्तारवादी र साम्राज्यवादी हुन्

नेकपा-माओवादीका अध्यक्ष वैद्यले अहिले नयाँ शक्तिको कुरा गर्नेहरु विस्तारवादी र साम्राज्यवादीहरु भएको आरोप लगाए । ‘माक्र्सवाद बुझेको जुन पुरानो छ, त्यो नै पछि नयाँ शक्ति बन्छ’, वैद्यले भने, ‘अहिले आएर अवसरवादी तप्काका मान्छेहरु नयाँ शक्तिको कुरा गरिरहेछन् ।’

‘भारतमा मोदी र केजरीवालहरु कसरी आए भन्नुस् त ?’ वैद्यले प्रश्न गरे, ‘साम्रज्यवादी र विस्तारवादी शक्ति नयाँ शक्ति हो ?’

संयुक्त मोर्चामै वैद्यको जोड

नेकपा-माओवादीका अध्यक्ष वैद्यले फेरि पनि संयुक्त मोर्चामा जोड दिएका छन् । फेरि पनि अर्को आन्दोलनको आवश्यक भएकाले संयुक्त मोर्चाको आवश्यकता टड्कारो बनेको वैद्यले उल्लेख गरे ।

‘संयुक्त मोर्चाको कुरा भन्नुस् न बडो विचित्र छ,’ वैद्यले भने, ‘राजनीतिक दलहरु त झन् मोर्चामा आउनै चाहँदैनन् ।’ भूकम्पको समस्या, लिपुलेक सहमति र जनविरोधी मस्यौदाको बारेमा विरोध गर्ने गरे पनि मोर्चा बनाउने कुरामा कसैको ध्यान नगएको वैद्यले बताए ।

नारायणकाजी ‘अवसरवादी’ भएको आरोप

माआवादी अध्यक्ष वैद्यले एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ अवसरवादी भएको आरोप लगाए । जनयुद्धअघि राष्ट्रवादीहरुको मोर्चा बनाउने कुराबाट पनि उनी भागेको वैद्यले स्मरण गराए ।

‘जनयुद्ध शुरु हुने बेलामा सुटुक्क निस्किएका उनै प्रकाश हुन्’, वैद्यले भने, ‘फेरि जनयुद्ध सकिएपछि पार्टीमा आउनु भयो ।’ वैद्यले नेता प्रकाशजस्तै एमाओवादीका धेरै नेताहरु अवसरवादी भएको तर्फ संकेत गरे । एकीकृत माओवादीका नेताहरुले कित्ता बदलेको उनको आरोप थियो ।

मस्यौदा पश्चमागी संविधान निर्माणको यात्रा

नेकपा-माओवादीले संविधानसभाबाट जारी गरिएको संविधानको मस्यौदा पश्चगामी संविधान निर्माणको यात्रा भएको जनाएको छ । कार्यक्रममा मस्यौदा संविधानबारे माओवादी सचिव देव गुरुङले प्रस्तुत गरेको कार्यपत्रमा मस्यौदा जनविरोधी भएको उल्लेख छ ।

‘धारा ७७ को शासकीय स्वरुपमा बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ भनिएको छ’, गुरुङले प्रस्तुत गरेको कार्यपत्रमा भनिएको छ, ‘यसबाट यो मस्यौदा साम्राज्यवादी विश्व दृष्टिकोणमा आधारित परम्परागत संसदीय शासनप्रणालीभन्दा तात्विक रुपमा भिन्न नरहेको खुला घोषणा गरेको हो र यो मस्यौदा पश्चगामी संविधान निर्माणको यात्रा हो भन्ने तथ्यको पुष्टी हुन्छ ।’

कार्यकारी अधिकार सम्बन्धमा पनि ०४७ सालकको संसदीय संधिधानले गरेको ब्यवस्था भन्दा विल्कुल फरक नरहेको गुरुङको कार्यपत्रमा उल्लेख छ ।

प्राकृतिक स्रोत र साधनमाथि आदिवासी जनजाति र स्थानीय जनताको अग्राधिकार हुनुपर्नेमा मस्यौदामा आदिवासी जनजातिलाई अग्राधिकारबाट बञ्चित गरिएको वैद्य माओवादीले जनाएको छ ।

राज्य संरचना सम्बन्धमा उत्पीडित जारीहरुको पहिचान र स्वायत्तताबिनाको भौगोलिक संघीयताको परिकल्पना गर्दै त्यसमा पनि बिना सीमांकन र नामांकनको ८ प्रदेशन, सीमांकन संघीय आयोग र नामांकन प्रदेश सभाले गर्ने भनेर अधुरो र अपुरो संविधानको मस्यौदा बनाइएको गुरुङले निश्कर्ष छ ।

वैद्य माओवादीले मस्यौदा जलाउने

दोस्रो संविधानसभा बहिष्कार गरेको वैद्य माओवादीले शनिबार संविधानको मस्यौदा जलाउने भएको छ । काठमाडौ उपत्यकाको तीन वटै जिल्लामा छुट्टाछुट्टै कार्यक्रम गरी मस्यौदा च्यात्ने कार्यक्रम भएको माओवादी काठमाडौ इन्चार्ज दीलिप प्रजापतिले बताए ।

शनिवार अपरान्ह साढे चार बजे काठमाडौको भोटाहिटी, ललितपुरको लगनखेल र भक्तपुरको सूर्यविनायकका संविधानको मस्यौदा जलाउने कार्यक्रम तय गरिएको सो पार्टीले जनाएको छ ।
Powered by Blogger.