एसएसपी श्रेष्ठले २६ वर्ष प्रहरी सेवामा बिताएका छन् । हाल प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत श्रेष्ठले विगतमा थुप्रै अपराधिक घटनाको सफल अनुसन्धान गरिसकेका छन् । तर, सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइरालाकी पत्नी गीता ढकालको हत्यामा गरेको अनुसन्धान भने उनका लागि अविस्मरणीय छ ।
यो अनुसन्धान दुई कारणले उनका लागि चुनौतिपूर्ण थियो । पहिलो, रञ्जन एक उच्चपदस्थ सरकारी अधिकारी थिए, दोस्रो, उनका पुराना एवं घनिष्ठ ‘लंगौटियार’ मित्र थिए । आफ्नो करिअरकै माइलस्टोनका रुपमा रहेको अनुसन्धानलाई श्रेष्ठले यसरी सम्झिए :
रञ्जन कोइराला र म ०४६ सालमा एकैसाथ प्रहरी सेवामा छिरेका हौं । खासमा हामी क्याम्पस जीवनदेखिकै साथी थियौं ।
रञ्जन मीनभवन क्याम्पसमा पढ्थ्यो, म त्रिचन्द्रमा । हामी विभिन्न क्याम्पस पढ्ने २०-२५ जना साथीको समूह थियो । प्रहरी निरीक्षकमा आवेदन खुलेपछि हामीले एकसाथ फाराम भर्यौं । ४-५ जनाको नाम निक्लियो, त्यसमध्ये रञ्जन र म पनि थियौं ।
नाम निस्केपछि तालिम सुरु भयो । त्यतिबेला प्रहरी तालिम केन्द्र त्यहीँ थियो, जसलाई अहिलेे पुलिस एकेडेमी भनिन्छ । तालिममा सहभागी ३६ जनामध्ये हामी दुईको घनिष्ठता बेजोड रह्यो । त्यतिबेला नै एकले अर्कालाई राम्रोसित बुझ्न पायौं । उसलाई मैले मिलनसार र सहयोगी साथीका रुपमा पाएको थिएँ । मैले कुनै दिन उसको हातमा आफैंले हत्कडी लगाउनुपर्ला भनेर सपनामा पनि सोच्ने कुरा थिएन ।
तालिमपछि मेरो पोस्टिङ पोखरामा भयो । ऊ पुलिस एकेडेमीमै रह्यो । त्यसपछि हामी स्वतः टाढियौं । पछि सशस्त्र प्रहरी खुलेपछि ऊ डीएसपी भएर गयो । कालान्तरमा २२ वर्षपछि हामी फेरि आमने -सामने भयौं, तर अलग परिवेशमा । म एक अनुसन्धान अधिकृत र ऊ एक आरोपीका रुपमा ।
म ०६८ सालमा महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख थिएँ भने ऊ सशस्त्रको डीआइजी । ऊ चीनमा भएको सशस्त्रको ट्रेनिङबाट भर्खर फर्केको थियो ।
पुस २९ गते रञ्जनले श्रीमती गीता ढकाललाई बेपत्ता पारेको भनेर माइती पक्ष हनुमानढोकामा उजुरी दिन आए । हाइप्रोफाइल केस भएकाले यसलाई आफैंले ह्याण्डल गर्ने निर्णय गरेँ ।
उनीहरुसित ठोस प्रमाण थिएन, तर रञ्जनलाई पक्राउ गर्न मलाई चर्को दबाव दिए । आरोपी जोसुकै भए पनि उजूरी परेकै भरमा कुनै स्पष्ट आधारबिना पक्राउ गर्ने अवस्था हुँदैन । यदि ऊ प्रहरीको उच्च व्यक्ति नभएर सामान्य नागरिक थियो भने पनि म तत्कालै समातेर थुन्न सक्दिनथेँ । तर, मैले आफ्नो साथी भएकाले रञ्जनलाई जोगाउन खोज्यो भनेर मिडियाले खेद्न थाले ।
मैले तीन पटकसम्म रञ्जनलाई बोलाएर मेरै कार्यकक्षमा दुई पक्षबीच छलफल गराएँ । रञ्जनले आफूमाथि लागेको आरोप ठाडै अस्वीकार गर्यो । ‘मसित राम्रो सम्बन्ध थिएन, राति-राति एक्लै हिँड्थी, कतै गई होली,’ उसको भनाइ यस्तै थियो । तर, माइती पक्षले भने उसैले अपहरण गरेको जिकिर गरिरहेका थिए ।
रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै तनावग्रस्त रहेको मलाई थाहा थियो । त्यतिबेला उनीहरु छुट्टएिर बस्थे । ठूला भइसकेका दुई छोराहरु आमासित बस्थे । मलाई पनि शंका थियो कि रञ्जनले श्रीमतीलाई अपहरण गरेर कतै लुकाएको छ कि ? ठूलो अपराध नै गर्यो होला भन्नेचाहिँ लागेको थिएन । मैले उसित छुट्टै कुराकानी पनि गरेँ । उसले आफूलाई थाहा नभएको जिकिर गरिरह्यो ।
कुनै बेलाका घनिष्ठ साथी हामी यतिबेला अनुसन्धान अधिकृत र एक आरोपीको तनावपूर्ण सम्वन्धमा थियौं । त्यसैले यो केस ह्याण्डल गर्नु मेरो करिअरकै सबैभन्दा ठूलो चुनौती थियो ।
अनुसन्धान गर्ने क्रममा करिब १५ रात त म निदाउँनै सकिनँ । रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन । त्यसैले सुरुमा म प्रमाण जुटाउन केन्द्रित भएँ ।
गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राति साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान पाँच बजेतिर फर्केको तथ्य फेला पर्यो । त्यसपछि मैले उसका हरेक गतिविधिमाथि निगरानी राख्न लगाएँ । नयाँ अपराधीको एउटा साइकोलोजी हुन्छ, ऊ अपराध गरेको स्थलमा कुनै प्रमाण छुटेका छन् कि भनेर चेक गर्न दोस्रोपटक जाने सम्भावना धेरै हुन्छ । रञ्जनको हकमा पनि यस्तै भयो ।
पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा लास ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले भेटाएका रहेछन् । उनीहरुले सडकबाट २० मिटर भित्र जंगलमा सो शव फेला पारेका थिए ।
आफ्नै गाउँ नजिक यसरी लास जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थालेछन् । रञ्जन घटनास्थलमा दोस्रोपटक पुगेछन् । उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाएछन् । तर, आफू सशस्त्रको डीआइजी भनेर ऊ सजिलै छुट्न सफल भएछ । त्यहाँबाट फर्किने क्रममा नागढुंगामा हामीले पक्राउ गर्यौं ।
