४ साउन, नेपालगञ्ज । प्रधानमन्त्री सुशील कोईरालाले मधेसवादी दलहरुलाई समेत समेटेर संविधान जारी हुने बताएका छन् । सोमबार बाँकेको राँझा विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले सबै असन्तुष्ट पक्षलाई समेटेर संविधान जारी गर्ने बताए ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला सोमबार गृहजिल्ला बाँके पुगेका हुन् ।
उनले सिमांकन सहितको संविधान जारी गर्ने विषयमा प्रमुख दलहरुबीच कुराकानी भैरहेको जानकारी पनि दिए ।
राय सुझाव संकलन बहिस्कार गर्ने मधेसवादी लगायतका असन्तुष्ट दलहरुको कारण बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको आगमनलाई ध्यान दिँदै सम्पूर्ण सार्वजनिक सवारी साधनलाई सुर्खेत रोडखण्डमा रोकिएको थियो ।
कोइरालालाई बाँकेका सबै निर्वाचन क्षेत्रको सुझाव संकलन कार्यक्रममा सहभागी गराउने पहल भैरहेको छ ।
