स्याङ्जा : सुन्दा पनि पत्याउन गाह्रो । विद्यालय पोशाकमा सजिएकी एक १३ वर्षीया किशोरी जो जीवनको अर्थ राम्ररी बुझ्दै नबुझी संसारबाट विदा भइन् ।

भर्खर १३ वर्ष टेक्दै गरेकी मनिका गुरुङ चुनीको पासोमा झुन्डिएको अवस्थामा उनकै कोठामा बिहीबार फेला परिन् । स्थानीय बोर्डिङमा कक्षा ७ मा अध्ययरत मनिका विद्यालय जान पोशाक र टाईसमेत लगाएर तयार भइसकेकी थिइन् ।

बिहान ९ बजेको समयमा बोर्डिङ जान ठीक्क परेर जुत्तामा पोलिस लाइरहेकी नातिनीलाई छाडेर काममा गएका हजुरबा र हजुरआमा घरमा फर्कँदा प्यारी नातिनी झुन्डेको देखेर मर्माहत भएका छन् ।

गृहकार्य सकेर बोर्डिङ जान जुत्तामा पोलिस गर्दै गरेकी नातीनीलाई देखेपछि हजुरबाले खाना खाएर विद्यालय जान भनेका थिए । तर, उनै हजुरबा एकछिनपछि घरमा फर्केर आउँदा केही बेरअघिसम्म हाँसिरहेकी नातिनी संसारबाट विदा भइसकेकी थिइन् ।

‘बिहानको ९ बजेको थियो । विद्यालय जाने तयारीमा नातिनी जुत्तामा पोलिस गर्दै थिइन्’, हजुरबाले भने, ‘खाना पकाएर बाहिर गएँ, फर्केर आउँदा उसका कापी किताब बाहिरै देखँे । कोठामा हेर्दा नातिनी झुन्डिएकी थिइन् ।’

बाबुआमाको सम्बन्ध राम्रो हुन नसकेपछि तीन नातिनीमध्ये एउटी बाबासँग पोखरा, माइली आफूसँंग र अर्की मामा घरमा बस्दै आएका थिए ।

मनिकाकी आमा रोजगारका लागि हङकङमा छिन् । अर्की बिहे गरेर उनका बाबु पोखरामा बसेपछि उनी हजुरबाबा र आमासँगै पुतलीबजार नगरपालिका–१३ मायाटारीमा बस्दै आएकी थिइन् ।

‘हजुरआमा घाँस काट्न बारीमा गएकी रहिछन्’, प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हजुरबा पनि घरबाहिर निस्केको बेला मनिकाले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।’
 
मनिकाबा बाबु गाडी चालक हुन् । आमा रोजगारका लागि हङकङमा छिन् । हजुरआमा र हजुरबाबाकी प्रिय मनिका अनुशासित र जेहेनदार बालिका रहेको स्थानीय बोधराज अर्याल बताउँछन ।

‘मेरी छोरी सँगै पढ्ने र सँगै खेल्ने मनिकाले आत्महत्या गरेको देख्दा पनि पत्याउन सकेको छैन’, उनले भने, ‘जिउनुको अर्थ नबुझ्दै मर्नुपर्ने बाध्यता कस्तो होला ?’

हङकङमा रहेकी आमा दुई दिनपछि आउने भएकाले मनिकाको शवलाई बरफमा राखिएको छ ।
Powered by Blogger.