मैदुगुरी, असार १८ (एजेन्सी) – आतंकवादी संगठन बोको हरामले बिहिबार १ सय ५० जनाको हत्या गरेको छ । रोजा तोड्नअघि मस्जिदमा नमाज पढिरहेकाहरुमाथि अन्धाधुन्ध गोली बर्साउँदै हत्या गरेको हो ।
आतंकवादी संगठनले बालबालिका र महिलालाई पनि छाडेनन् र हत्यापछि लाशलाई आगो लगाइदिएका थिए । त्यसपछि उनीहरुको घर पनि जलाइदिएका थिए ।
घटना उत्तर पूर्वी बोर्नो जिल्लाको कुकावा गाउँमा भएको थियो । घटनास्थलबाट भागेर ज्यान बचाउन सफल एक प्रत्यक्षदर्शीका अनुसार गाउँमा कम्तीमा ५० जना हतियारधारीहरु भ्यान र मोटरसाइकलमा आएका थिए । त्यसपछि मस्जिदमा गएर नमाज पढिरहेकाहरुमाथि अन्धाधुन्ध फायरिंग शुरु गरेका थिए ।
पाँच हप्ताअघि राष्ट्रपति बुहारी सत्ता आएपछि बोको हरामको यो सबैभन्दा ठूलो कारवाही हो । केही हप्ताअघि बोको हराम र आइसले सहकार्य गर्ने कुरा पनि बाहिर आएको थियो ।