काठमाडौं : जित्नै पर्ने खेलमा नेपालले लज्जास्पद हार भोगेको छ । टी-ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा नेपालले जर्सीसँग ७ विकेटको लज्जासपद हार भोगेको हो ।
आयरल्यान्डमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १०६ रनको चुनौती पछ्याएको जर्सीले १६.१ ओभररमा १०७ रन बनाउँदे नेपाललार्इ घरको बाटो देखायो ।
यो जितसँगै जर्सीले विश्वकपमा छनोट हुने आशा जीवितै राखेको छ । यता नेपालले यो हारसँगै टी-ट्वेन्टी मान्यता पनि गुमाउन पुगेको छ ।
जर्सीको विश्वकप यात्रा जीवित राख्ने क्रममा जोन्टी लेनरले सर्वाधिक ३० रन बनाए । त्यसैगरी पिटर गाउजले २७ रन जोडे । नटआउट रहेका कर्न्लेस बोडेन्सट्येनले पनि २७ रन बनाए ।
नेपालका लागि शक्ति गौचन र पारस खड्काले समान १/१ विकेट लिन सफल भए । यसअघि नेपाललार्इ सय रनमाथि बनाउने क्रममा सिनियर टिममा डेब्यु गरेका सिद्धान्त लोहनीले सर्वाधिक २७ रन बनाए ।
नेपालको स्कोर सय रनमाथि पुर्याउने क्रममा सिद्धान्त लोहनीले १६ बलमा २७ रन बनाए । उनको इनिङमा २ छक्का पनि सामेल थियो ।
त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले २६ रनको मद्धत गरे । जर्सीविरुद्धको जित्नै पर्ने खेलमा अन्य खेलाडीको प्रदर्शन विर्सन लायक रह्ययो । ओपनर र भरपर्दा ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा नेपालले मुस्किलले सय रन काट्न सक्यो ।
सय रन कटाउने क्रममा आजको खेलमा सिद्धान्त लोहनी र ज्ञानेन्द्र मल्लको भूमिका महत्वपूर्ण रह्ययो ।
ओपनरहरु प्रदीप एेरी र विनोद भण्डारीलार्इ २ र ३ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालार्इ पनि ११ रन जोडेको अवस्थामा गुमाएको थियो ।
ओपनरहरु दोहोरो स्कोर गर्न नसकी पवेलियन फर्केपछि दबाबमा परेको नेपाललार्इ पारस र राजेश पुलामीले पनि सम्हाल्न सकेनन् । शरद भेसवाकरले १६ रन जोडे ।
ज्ञानेन्द्र मल्लले नेपाललार्इ सम्हाल्ने कोशिस गरिरहेका बेला २६ रनमा आउट भए । ज्ञानेन्द्र आउट भएपछि उनको स्थानमा सिद्धान्त लोहनी गएका थिए ।
जर्सीका लागि नाट वाट्किन्सले ३ र एन्थोनी क्येले २ विकेट लिन सफल भए ।
शुक्रबारको खेलमा पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएपछि विश्वकपमा छनोट हुने नेपालको सम्भावना अंक गणितीयमा मात्र बाँकी थियो ।
