२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा ईसाइकरण बढ्नु नेपाल, भारत र चीनलाई समेत खतरापूर्ण भएको बताएका छन् ।
भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरु प्रलोभन देखाएर वा डर धम्की दिएर हुने धर्म परिर्वतनको विपक्षमा रहेको बताए ।
भारतीय म्यागेजिन ‘आउटलुक‘लाई दिएको अन्तरवार्तामा प्रचण्डले इसाइकरण नेपालको राष्ट्रिय हित बिपरित रहेकोर यसले दुई छिमेकीलाई समेत खतरा हुने बताए । ‘हेर्नुस् नेपालमा हिन्दु धर्मालम्बीको जनसंख्या धेरै छ’ प्रचण्डले भने-‘ईसाइ धर्मालम्बी बढ्नु हाम्रा लागि खतरा हो, यो हाम्रो राष्ट्रहितमा छैन ।’
प्रचण्डले नेपालमा क्रिस्चियन बढ्नु भारत र चीनका लागि समेत खतरापूर्ण हुने बताए । ‘हाम्रो एउटा छिमेकी चीन हो र अर्को भारत । यी दुवै देश नेपालको धार्मिक जनसंख्याको संरचना बदलिंदा चिन्तित हुन्छन् । चीनका लागि यसो हुनु पश्चिमाहरुको प्रभाव बढ्नु हो । हाम्रो राष्ट्रिय हितमा पनि यो छैन’ प्रचण्डले भने-‘ तर, हामी नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा छैनौं, नेपाल धर्म निरपेक्ष नै रहने छ, तर नेपाली कांग्रेस लगायतका केही दलहरु भने धर्म निरपेक्षताको बिरोधमा छन् ।’
प्रलोभन वा डर धम्की देखाएर धर्म परिवर्तन गराउने कुरालाई संबिधानमै अपराधका रुपमा ब्याख्या गरिएको भन्दै प्रचण्डले बलजफ्ती धर्म परिवर्तनका पक्षमा आफुहरु नरहेको बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डले १९५० को सन्धी एकतर्फी भएको भन्दै अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । उनले भने-‘भारतले भनेको छ कि हामी (नेपाल)ले अन्त्य गरोस् । तर, यो सही हुँदैन । दुबै पक्ष मिलेर अन्त्य गर्नुपर्छ र यसमा हाम्रो कुराकानी जारी छ ।’