गोरखा : आइतबार राती खाना खाएर सुतेका एक घरका पाँच जना बेहोश भएका छन् । सदरमुकामको हरमटारी निबासी रणमाया राणा सहित सोही घरमा खाना खाएर सुत्ने दुई मजदुर, दुई विद्यार्थी बेहोश भएका हुन् ।
दुई जना मजदुरको गोरखा अस्पतालमा र अन्य तीनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।सोही घरकी ६३ बर्षकी रणमाया राणा, उनकै नाति १६ बर्षका सशिन न्यौपाने र पुरक एसएलसीको तयारीका लागि त्यहाँ बसेकीक ताङ्लिचोक २ की बर्षा थापालाई गोरखा अस्पतालमा उपचार गरी थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।
खोप्लाङीको पसलमा काम गर्ने मजदुरहरु बगुवा ६ माछापोखरीका २७ बर्षका सुर्चन श्रेष्ठ २७ र धादिङ गजुरीकाक १८ बर्षीय कृष्ण श्रेष्ठको गोरखा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैको होश खुलेपनि सोमबार दिउँसोसम्म उठ्न सक्ने अबस्था नभएको अस्पतालले जनाएको छ । भरतपुर लगिएकी सिकिस्त भनिएकी राणाको होश दिउँसो एक बजेतिर खुलेको अस्पतालले जनाएको छ । अरु दुई जना सामान्य अवस्थामा छन् ।
खाना खुवाउने महिला भने रातीदेखि नै फरार छिन् । उनले नै बेहोश बनाउने औषधी मिसाएको खाना खुवाएको सुर्चन श्रेष्ठले बताए । ‘उनी घरमा काम गर्न आएको दुईतीन हप्ता भएको थियो’ श्रेष्ठले भने ‘हिजो दिनभर उनी कता हराइन् । राती खाना बनाएर खुवाइन् । हामी बेहोश भयौं । उनी भागिन् ।’ लुट्नका लागि हामीलाई बेहोश बनाएको हुनसक्छ ।’
