धादिङ : ३० हजार ऋण तिर्न नसक्दा घरबार गुमाएर ओढारमा बस्न बाध्य धादिङको एक चेपाङ परिवार सहयोगी हातको प्रतिक्षामा छ ।
छोराछोरीसहति धादिङको जोगीमारा–२ तल्लो जवाङकी चन्द्रकुमारी चेपाङ अहिले ओढारमा दिनरात बिताइरहेकी छन् । मंगलबार पति सुमानसिंह चेपाङको निधन भएपछि त चन्द्रकुमारी र उनका छोराछोरीको भविष्य नै अन्धकारमय बनेको छ ।
उनीसँग अहिले न त खेती गर्ने जमिन छ, न नै खाने अन्नको दानो । भोकले छट्पटाइरहेका कलिला छोराछोरीको पेट भर्ने कुनै विकल्प उनीसँग छैन । रोइरहेका नानीबाबुलाई फकाउन नसक्दा उनी आफैं आँसु बगाउन विवश छिन् ।
३० हजार ऋण तिर्न नसक्दा तीन रोपनी जग्गा साहुलाई बुझाएर ८ वर्षसम्म ओडारमा बसेका पति सुमानसिंहको मंगलबार मृत्यु भएपछि बालबच्चा र परिवार धान्ने जिम्मा चन्द्रकुमारीको काँधमा आएको छ ।
ओढारमै राखेर भएपनि दुईछाक खुवाइरहेका बाबुले पनि संसार छाडेपछि यी कलिला नानीबाबुले भोकभोकै बस्नुपर्ने अवस्था आइपरेको हो ।
पतिले छाडेर गएसँगै ओढारमा अन्नको गेडो पनि रित्तिएको छ । पति वियोगको शोकमा डुबेकी चन्द्रकुमारीले आफ्नो र नानीबाबुको ज्यान बचाइदिन दातासँग हात फैल्याइरहेकी छन् ।
पतिले संसार छाडेपछि चन्द्रकुमारीलाई धादिङका विभिन्न संघसंस्थाले ५ हजार ७ सय ४ रुपैया संकलन गरी खाद्यान्न दिएका छन् ।
फाया नेपालले १ हजार ६ सय ४०, सहयात्री समाज नेपालले १ हजार ९ सय ६८ र सिड्स धादिङले २ हजार ९६ रुपैयाँ तत्काल संकलन गरी त्यसबाट चामल, नुन, दाल, तेल र साबुन दिएका हुन् ।
रेडक्रस सोसाइटी धादिङले लत्ता, कपडा, आइसीडिसी धदिङले कम्मल र ब्लाङ्केट, होटल जीविका एन्ड हुक्का बारले एक बोरा चामल, महाशक्ति भुजा उद्योगले एक बोरा भुजिया, पुष्पा स्टेशनरीले स्टेशनरी सामान, कारोबार दैनिकका धादिङ संवाददाता राजेन्द्र बस्नेतले एक बोरा चामल दिएका छन् ।
त्यसैगरी किरिया खर्चका लागि पाविलन्युज डटकमले दुई हजार रुपैयाँ सहयोग गरेको छ ।