प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राख्न सुझाव २९ असार,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जान सुझाव दिएका छन् ।

नयाँ संविधानको मस्यौदामा ११ बुँदे सुझाव सार्वजनिक गर्दै भट्टराईले  नेपालमा संसदीय प्रणाली भन्दा प्रत्यक्ष निर्वाचित शासन प्रणाली नै उपयुक्त  हुने बताएका हुन् ।
भट्टराईले आफ्नो लिखित सुझावमा भनेका छन्-नियन्त्रण र सन्तुलनको सिद्धान्तको सही कार्यान्वयन गर्नका लागि पनि प्रत्यक्ष कार्यकारी प्रणाली नै सही विकल्प हुन सक्छ ।’
यसका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले संसद्भन्दा बाहिरबाट मन्त्रीहरू चयन गर्ने र संसदलाई विशुद्ध विधायिकाका रूपमा स्थापित गर्नुपर्ने भट्टराईको सुझाव छ । यो प्रणालीको कार्यान्वयनले हाल देखिएको राजनीतिमा आपराधीकरण र अपराधको राजनीतिकरणलाई धेरै हदसम्म नियन्त्रण गर्ने उनको दाबी छ ।
संविधानको मस्यौदामा पार्टीको संस्थागत निर्णय भन्दा अलग्गै मत राख्दै भट्टराईले मिश्रति निर्वाचन प्रणालीले संसद्मा कुनै पनि पार्टीको एकल बहुमत आउने सम्भावना नरहने बताएका छन् । उनले निर्वाचनको प्रतिस्पर्धामा सामेल दलमध्ये जुन दलले खसेको मतको ५ प्रतिशत मत ल्याउँछ त्यसलाई मात्र राष्ट्रिय पार्टीको मान्यता दिने संवैधानिक व्यवस्था गर्नुपर्ने मत जाहेर गरेका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको सट्टा राष्ट्राध्यक्ष र उपराष्ट्राध्यक्ष भन्नु लैंगिक दृष्टिले सही भन्दै भट्टराईले उक्त दुई पदको निर्वाचन गाउँ तहदेखिकै जनप्रतिनिधिबाट हुनुपर्ने धारणा अघि सारेका छन् । राष्ट्राध्यक्ष राष्ट्रिय एकताको प्रतीक र राष्ट्रिय गरिमाको पद भएकाले उनको शपथ ग्रहण प्रधानन्यायाधीशसमक्ष नगरेर विशेष राजनीतिक समारोहका बीचमा गर्ने व्यवस्था हुनुपर्ने उनको धारणा छ ।
एमाले सचिव भट्टराईले संवैधानिक अदालत १० वर्षका लागि मात्र नभएर स्थायी प्रकारको हुनुपर्ने धारणा अघि सारेका छन् ।
एमालेको संस्थागत धारणा विपरित उनले एमाओवादीको धारणासँग सहमति जनाएका हुन् । भट्टराईले भनेका छन्-संविधानको व्याख्या गर्ने, संघ र प्रदेशबीचका मुद्दा हेर्नेलगायतका अधिकारसहित संवैधानिक अदालतको व्यवस्था गर्नुपर्दछ । प्रस्तावित संविधानमा १० वर्षका लागि मात्र भनिएकोमा यो अदालत स्थायी हुनुपर्दछ ।’
उनले संवैधानिक अदालतको प्रमुख अलग्गै हुनुपर्ने धारणा राखेका छन् । भट्टराईले नयाँ संविधान जारी भएपछि सबै संवैधानिक अंगका प्रमुख, न्यायाधीशहरु र प्रधानसेनापतिको समेत पुनः नियुक्ति हुने प्राबधान राखिनुपर्ने धारणा अघि सारेका छन् ।
भट्टराईले बेरोजगारलाई राज्यले भत्ता दिने प्रावधानले युवालाई श्रमबाट अलग गर्ने र अल्छी बनाउने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । भट्टराईले आफ्नो ११ बुँदे फरक मतमा भनेका छन्-लोक कल्याणकारी दृष्टिले यो सही नै होला तर यो प्रावधानले युवाहरूलाई श्रमबाट अलग गर्ने, श्रमप्रति घृणा जन्माउने, अल्छी बनाउने, परनिर्भर बनाउने सम्भावना रहन सक्दछ, यसप्रति भने चनाखो हुनुपर्दछ ।’

Powered by Blogger.