कुबेत पुलिसले ती करोडपति भिखारीलाई हालै पक्राउ गरेको छ । ती भिखारीले राजधानी कुबेत सिटीस्थित एक मस्जिदको नजिकै भिख माग्ने गर्दथे र उनलाई भिख माग्दा माग्दै पुलिसले पक्राउ गरेको हो ।
खलिज टाइम्स पत्रिकाका अनुसार पक्राउ परेको उक्त भिखारी गैर कुवेती नागरिक हो । उसले आफ्नो घर तथा सम्पत्ति नरहेको भन्दै बटुवाहरुसँग पैसा माग्ने गरेको थियो ।
निषेधित क्षेत्रमा मागेर कानून तोडेको आरोपमा प्रहरीले उसलाई गिरफ्तार गरेर अल अहमदी पुलिस चौकीमा लग्यो । त्यहाँ लगेर केरकार गर्दा ऊ गैरकुवेती रहेको तथा स्थानीय बैंकमा उसको खातामा ५ लाख कुवेती दिनार डिपोजिट रहेको खुलेको हो ।
गएकेा अपि्रलमा कुवेत सरकारले सडकमा भिख मागेको आरोपमा पक्राउ गरी २२ जना विदेशी मगन्तेलाई देशनिकाला गरी घर फर्काइदिएको थियो ।
मुस्लिमहरुको पवित्र पर्व रमजानका अवसरमा दान दिने प्रचलन रहेको हुँदा त्यस समयमा खाडी मुलुकका मस्जिद आसपासमा स्वदेशी तथा विदेशी भिखारीहरु ठूलो संख्यामा देखिने गरेका छन् । यद्यपि खाडी देशहरुले भिख माग्ने कामलाई गैरकानूनी घोषित गरी भिखारीलाई कडा दण्ड दिने कानून बनाएका छन् ।